इनम सापकोटा प्रकरणका न्यायाधीश इजलासमा


नम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि विवादमा तानिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल इजलासमा फर्किएका छन् ।

तिहार बिदापछि मंगलबार अदालत खुलेसँगै दुवै न्यायाधीश इजलासमा सहभागी भएका हुन् । प्रधानन्यायाधीश शर्मा नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग संयुक्त इजलासमा छन् भने न्यायाधीश फुयाल न्यायाधीश गोकर्ण डाँगीसँग संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

तीन साताअघि विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलबाट प्राप्त ह्वाट्सएप म्यासेज सार्वजनिक हुँदा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको नाम जोडिएको थियो । त्यसपछि दुवै न्यायाधीश केही समय इजलासमा सहभागी भएका थिएनन् ।

सापकोटाले एक व्यक्तिलाई पठाएको म्यासेजमा आफ्ना नातेदारको नाममा रकम जम्मा गर्न भन्दै बैंक खाता नम्बर आदानप्रदान गरेको विवरण सार्वजनिक भएको थियो । प्रहरी अनुसन्धानका क्रममा प्राप्त विवरणमा प्रधानन्यायाधीश शर्मासहित अन्य व्यक्तिको नामसमेत उल्लेख थियो ।

त्यस्तै, सापकोटासँग न्यायाधीश फुयालको संवाद भएको विवरण पनि सार्वजनिक भएको थियो । विवरण सार्वजनिक भएपछि फुयालले सापकोटालाई होटल हिमालयमा भेटेको स्वीकार गरेका थिए ।

घटनापछि न्यायाधीशहरुको भूमिकामाथि प्रश्न उठेको थियो । उनीहरुको भूमिकाबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरे पनि अधिकांश कानुन व्यवसायी समितिमा बस्न तयार भएका थिएनन् ।

तिहार र छठको बिदापछि अदालत खुलेसँगै शर्मा र फुयाल पुनः इजलासमा फर्किएका हुन् ।