भारत, चीन र इजरायलका लागि नयाँ राजदूत नियुक्त


राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार सरकारको सिफारिसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको हो ।

राष्ट्रपति पौडेलले नवनियुक्त तीनै जना राजदूतलाई सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथसमेत गराएका छन् ।

यसअघि गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम अनुमोदन गरेको थियो ।

अनुमोदित १० प्रस्तावित राजदूतमध्ये भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो प्राप्त भएपछि नियुक्तिको प्रक्रिया अघि बढेको थियो ।