मध्यपूर्वमा युद्धको त्रास, अमेरिकाले तैनाथ गर्‍यो तीन विमानवाहक पोत


मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चुलिँदै गएको छ । पछिल्लो घटनाक्रमसँगै क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको छ भने विभिन्न देशले सुरक्षा सतर्कता बढाएका छन् ।

अमेरिकी जलसेनाको अत्याधुनिक विमानवाहक पोत ‘यूएसएस थिओडोर रुजवेल्ट’ मध्यपूर्व क्षेत्रमा आइपुगेको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताएका छन् । यसको आगमनसँगै अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को कार्यक्षेत्रमा तैनाथ अमेरिकी विमानवाहक पोतको संख्या तीन पुगेको छ ।

यसैबीच, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले अमेरिकाले कूटनीतिक पहलको कुरा गरिरहे पनि अर्को आक्रमणको तयारी गरिरहेको आरोप लगाएका छन् । उनले परिस्थिति यथावत् रहे इरान चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

उता, बहराइनस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकका लागि विशेष सुरक्षा सतर्कता जारी गरेको छ । इरान र हुथी समूहबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै दूतावासले नागरिकलाई सचेत गराएको हो ।

यसअघि बहराइन सरकारले आफ्नो हवाई क्षेत्रमा भएको इरानी आक्रमणलाई वायु रक्षा प्रणालीमार्फत निष्प्रभावी बनाएको जनाएको थियो ।

यस्तै, हर्मुज जलमार्गमा दुईवटा तेलवाहक पानीजहाजमा विस्फोटपछि आगलागी भएको इरानी जलसेनाले जनाएको छ । पछिल्ला घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था थप अनिश्चित बनेको छ ।