भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसँगको सम्बन्ध भारतको ‘एक्ट ईस्ट नीति’को प्रमुख आधार रहेको बताएका छन् ।
मनिलामा आयोजना हुने २३औँ आसियान–भारत शिखर सम्मेलन र २१औँ पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन जानुअघि सोमबार उनले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीचको सम्बन्ध विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको बताएका हुन् ।
मोदीले शताब्दीयौँ पुरानो सभ्यता र ज्ञानको आदानप्रदानमा आधारित भारत र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीचको सम्बन्ध अहिले व्यापार, यातायात तथा सञ्चार सम्पर्क, समुद्री सुरक्षा, प्रविधि र जनस्तरको सम्बन्धसम्म विस्तार भएको उल्लेख गरेका छन् ।
उनले पूर्वी एसिया शिखर सम्मेलनलाई हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेका छन् । सम्मेलनमा क्षेत्रीय तथा विश्वव्यापी चुनौतीबारे छलफल हुने र शान्ति, स्थायित्व तथा सहकार्य सुदृढ बनाउने विषयमा सहभागी नेताहरूसँग विचार आदानप्रदान गर्ने उनले बताएका छन् ।
यस भ्रमणका क्रममा मोदीले अस्ट्रेलिया, जापान र अमेरिकाका नेताहरूसँगै चारपक्षीय सुरक्षा संवाद (क्वाड) को शिखर सम्मेलनमा पनि सहभागी हुने अपेक्षा गरिएको छ । साथै, सम्मेलनका क्रममा विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता पनि हुने भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।
अधिकारीहरूका अनुसार मनिलामा हुने भेटवार्तामा व्यापार तथा लगानी प्रवर्द्धन, समुद्री सुरक्षा सहकार्य र क्षेत्रीय सुरक्षाका चुनौती प्रमुख विषय रहनेछन् ।

प्रतिक्रिया