मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन् ।
मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, प्रभु बैंकले ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।
हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यसैगरी, माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले ०.५० प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।
एनएमबी बैंकले व्यक्तिगततर्फ ४.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ३.७५ प्रतिशत, कुमारी बैंकले ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.६५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
ब्याजदर घटाउने ६ बैंकमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गरेको हो ।
समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशत कायम भएको छ ।
यसपटक कुनै पनि वाणिज्य बैंकले ब्याजदर बढाएका छैनन् ।

प्रतिक्रिया