मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि राजीनामा दिएका हुन्। एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको थियो।
१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ। तर, हाल कायम १०३ सांसदमध्ये मुख्यमन्त्री यादव नेतृत्वको नेपाली कांग्रेसका २२ सांसद मात्रै छन्। यस्तो अवस्थामा आवश्यक बहुमत जुटाउन उनलाई कठिन हुने देखिएको थियो।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेशसभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। जसपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ।
मधेश प्रदेशसभामा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन्।
अब प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

प्रतिक्रिया