विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने भएको छ ।
तिहारमा विद्युत् माग बढ्ने भए पनि आन्तरिक उत्पादनले नै माग धान्ने प्राधिकरणको अनुमान छ । यस वर्ष लक्ष्मीपूजाको दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । तर, सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ ।
पर्वका समयमा विद्युत् आपूर्ति व्यवस्थापन तथा सम्भावित समस्या समाधानका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्ने र सम्भावित चुनौती व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन् ।
त्यस्तै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न तथा विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिइएको छ । नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र उपभोक्ताका समस्या छिटो समाधान गर्ने व्यवस्था मिलाउनसमेत प्राधिकरणले भनेको छ ।
पर्व अवधिभर विद्युत् माग तथा आपूर्तिको नियमित अनुगमन गरिने प्राधिकरणले जनाएको छ । प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरी सम्भावित समस्या समयमै समाधान गर्ने तयारी गरिएको छ ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठमा विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

प्रतिक्रिया