काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका नेपाली भाषी समुदायले विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन्।
संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनकथालाई सरल नेपाली भाषामा भावानुवाद गर्दै ‘रामायण’ प्रस्तुत गरेपछि भानुभक्त नेपाली साहित्यमा अमर बनेका हुन्। उनले रचना गरेको रामायण आज पनि नेपाली समाजमा श्रद्धापूर्वक पाठ गरिने लोकप्रिय कृति हो।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक घाँसीले ‘जन्म लिएपछि समाजका लागि सम्झनलायक काम गर्नुपर्छ’ भन्ने प्रेरणा दिएपछि नेपाली भाषामा रामायण लेख्न उत्साहित भएको किंवदन्ती प्रचलित छ।
भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृतिले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता, पहिचान र सांस्कृतिक चेतना अभिवृद्धि गर्न उनले खेलेको भूमिका ऐतिहासिक मानिन्छ।
जन्मजयन्तीका अवसरमा आज काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको उनको प्रतिमामा माल्यार्पण, प्रभातफेरी तथा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ। देशभरका साहित्यिक, शैक्षिक तथा सांस्कृतिक संस्थाले पनि भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।
यस अवसरमा धेरै स्थानमा घरघरमा नेपाली भाषामा भावानुवाद गरिएको रामायणको पाठ गर्ने परम्परा पनि कायम छ। भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद्लगायत विभिन्न संघसंस्थाले समेत विशेष कार्यक्रम आयोजना गरेका छन्।
नेपालबाहेक भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न देश र स्थानमा पनि भानुभक्तको जन्मजयन्ती श्रद्धापूर्वक मनाइँदै आएको छ।

प्रतिक्रिया