तनहुँ । नेपालका मौलिक भाषा, लिपि र संस्कृतिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँमा पुस्तान्तरणमार्फत तमु (गुरुङ) भाषा र संस्कृतिको संरक्षण अभियान सुरु गरिएको छ।
व्यास नगरपालिका–१ विज्ञानचौर, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नै आन्तरिक स्रोत परिचालन गरी सातदिने ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण’ सञ्चालन गरेको हो।
आदिवासी जनजाति भाषा तथा संस्कृति संवर्द्धन एवं विकास समितिको आयोजनामा भइरहेको तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्रशिक्षण पूरा गरेपछि आफ्ना पालिका तथा समुदायमा पुगेर तमु भाषा र लिपि सिकाउने अभियान सञ्चालन गर्ने लक्ष्य लिएका छन्।
समितिका संयोजक ठाकुरबहादुर दरैले नयाँ पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्दै तमु भाषा र संस्कृतिलाई जीवन्त राख्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार शनिबारदेखि क्याम्पसमा सुरु भएको तालिम स्थानीय स्तरबाट भाषा संरक्षणको अभियान अघि बढाउने महत्त्वपूर्ण प्रयास हो।
उनले मातृभाषा बोल्ने र लिपि लेख्ने संस्कार नयाँ पुस्तामा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भाषा हराए समुदायको पहिचान नै संकटमा पर्ने बताए। तालिमले भाषा संरक्षणको अभियानलाई सीमित वर्गबाट समुदायस्तरसम्म विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले भाषा, संस्कृति, कला र साहित्यको संरक्षण सामुदायिक क्याम्पसको सामाजिक दायित्व भएको बताए। गत वर्ष मगर भाषा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको क्याम्पसले यस वर्ष गुरुङ भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा केन्द्रित कार्यक्रम अघि बढाएको उनले जानकारी दिए।
कार्यक्रममा सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष श्रीराम कार्कीलगायतले भाषा संरक्षणका लागि समुदायको साझा सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया