फजुल खर्चमा सोताङको छलाङ

सोताङमा सवारी मर्मत र इन्धनमै वार्षिक १ करोड खर्च !


सोलुखुम्बु । सोताङ गाउँपालिकाले एक आर्थिक वर्षमै सवारी साधन मर्मत र इन्धनमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सवारी मर्मत र इन्धन खरिदमा ९९ लाख ९५ हजार ३ सय १६ रुपैंया ९९ पैसा खर्च गरेको हो ।
पालिकाले सवारी मर्मतमा ४७ लाख ८९ हजार ८२ रुपैंया, मेसिनरी तथा औजार मर्मतमा थप ६ लाख रुपैंया र इन्धन खरिदमा ४६ लाख ६ हजार २ सय ३४ रुपैंया ९९ पैसा खर्च गरेको छ । त्यसमध्ये १५ लाख रकम पदाधिकारीले इन्धनमा खरिद गरेको खर्च देखाइएको छ ।

यो खर्च अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै दोब्बरले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सोताङले सवारी मर्मतमा ३५ लाख ३६ हजार ५ सय ९८ रुपैंया ५० पैसा खर्च गरेको थियो । इन्धन खरिदमा आर्थिक वर्ष २०८०/०८१ मा २६ लाख ४६ हजार ८ सय ६९ रुपैंया ९८ पैसा खर्च गरेको थियो । अघिल्लो वर्ष भन्दा आर्थिक वर्ष २०८१/८२ मा सोताङको इन्धन खर्च ७४.०२ प्रतिशतले बढेको छ ।

सवारी मर्मत र इन्धन शिर्षकमा भएको खर्च अस्वभाविक भएको भन्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले त्रुटी औल्याएको छ ।

प्रतिवेदन अनुसार गाउँपालिकाको स्वामित्वमा रहेका २ वटा गाडी, २ वटा एम्बुलेन्स, ९ मोटरसाइकल, १ स्कुटर, १ लोडर र १ दमकल गरी १६ वटा सवारी साधन मर्मत गर्दा लिखित कोटेशन मागिए पनि प्राविधिक कर्मचारीबाट सवारीको निरीक्षण, मर्मत आवश्यकताको मूल्यांकन तथा लागत अनुमान तयार नगरि खर्च गरिएको उल्लेख छ ।

महालेखा परीक्षकले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न सवारी मर्मत र इन्धन खर्चमा स्पष्ट मापदण्ड, लागत नियन्त्रण तथा अभिलेख व्यवस्थापनलाई कडाइका साथ लागू गर्न सोताङ गाउँपालिकालाई सुझाव दिएको छ ।

मलेप प्रतिवेदनमा उल्लेख खर्च विवरण पढ्नुहोस्