आईजीपी केसीका नाममा जारी म्याद अधिवक्तामार्फत तामेल गर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयका कानुन व्यवसायीमार्फत तामेल गर्न आदेश दिएको छ।

अदालतका तामेलदारले म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुग्दा कार्यालयले बुझ्न अस्वीकार गरेपछि सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको उत्प्रेषण रिटमाथि सुनुवाइ गर्दै इजलासले प्रहरी प्रधान कार्यालयको प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत मंसिर ४ गते जारी भएको म्याद बुझाउन र नियमानुसार पेस गर्न आदेश दिएको छ।

यसअघि मंसिर ४ गते म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुगेका तामेलदारलाई कार्यालयका कर्मचारीले आईजीपी बैठकमा रहेको भन्दै कार्यालय समयसम्म पर्खाएका थिए। तर, कार्यालय समय सकिँदासमेत आईजीपी उपस्थित नभएपछि म्याद बुझाउन नसकिएको प्रतिवेदन तामेलदारले अदालतमा बुझाएका थिए।

सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः जारी भए म्याद नफर्काउने प्रतिबद्धता जनाएका थिए।

इजलासले रिटलाई प्राथमिकतामा राख्दै आगामी मंसिर ९ गते बुधबारका लागि अर्को पेसी तोकेको छ। साथै, सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन आदेश दिएको छ।

सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयबाट दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। त्यसपछि एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न माग गरेका छन्।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई छलफलका लागि सोमबार बोलाएको थियो।