प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा विषयमा समझदारी भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच आइतबार भएको भेटवार्तापछि फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, स्याटेलाइट सञ्चार, स्वास्थ्य, सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।
यी हुन् नेपाल–भारतबीच भएका आठ समझदारी :
१. फरेन्सिक विज्ञानमा सहकार्य : भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि समझदारी भएको छ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिको विकास तथा प्रवर्द्धनका लागि सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास : दिगो सहरी विकासका क्षेत्रमा दुवै देशले प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य तथा चिकित्सा : नेपाल र भारतले स्वास्थ्य सेवा तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्दै सेवा र प्रविधिको विकासमा जोड दिनेछन्।
८. पशुपालन तथा मत्स्यपालन : पशुपालन र मत्स्यपालन क्षेत्रको विकास तथा विस्तारका लागि दुवै देशले सहकार्य गर्ने समझदारी गरेका छन्।
यी समझदारीले नेपाल र भारतबीच विभिन्न क्षेत्रको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया