नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु


भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री शाह, भारतीय प्रधानमन्त्री मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी छन्।

प्रतिनिधिमण्डलस्तरीय बैठकअघि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।

त्यसअघि राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई न्यानो स्वागत गरेका थिए। स्वागतका क्रममा दुवै नेताले अंकमालसमेत गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।

भ्रमणको कार्यतालिकाअनुसार आज दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।

भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।