राम–सीताको भूमि जोडिँदै, जनकपुर–अयोध्या रेल आजदेखि


राम–सीताको पवित्र सम्बन्धसँग जोडिएका नेपाल र भारतका दुई धार्मिक सहर जनकपुरधाम र अयोध्या अब रेलमार्गबाट जोडिने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा नयाँ रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ।

भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पीआईबी)का अनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको हो।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै सञ्चालन हुनेछ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा रेल सातामा एकपटक सञ्चालन हुनेछ।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्याबाट छुटेर मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।

रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्यासम्मको यात्रा गर्नेछ। यी स्थानमा यात्रु चढ्न र ओर्लन सक्ने व्यवस्था रहनेछ।

अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिन्छ। रामायणसँग जोडिएका यी दुई धार्मिक सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनुलाई धार्मिक पर्यटन प्रवर्द्धन र नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।

रेल सेवा सञ्चालनले भारतबाट अयोध्या आउने तीर्थयात्रीलाई जनकपुरधामसम्म पुग्न र नेपालबाट अयोध्या जाने श्रद्धालुलाई आवागमन गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले रामायण सर्किटको अवधारणालाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

जनकपुरधामका विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाले रेल सेवा सञ्चालनको पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यसबाट धार्मिक पर्यटनसँगै मधेश प्रदेशको कृषि, उद्योग, व्यापार र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन्।

रास्वपा धनुषाका नेता अम्बुप्रसाद साहले रेल सेवा जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने महत्वपूर्ण अवसर भएको बताए।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले रेल सेवाले जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, जसपा धनुषाका अध्यक्ष पशुपति यादवले लामो समयदेखि पहल हुँदै आएको रेल सेवा सञ्चालनको चरणमा पुग्नु सकारात्मक भएको बताए। उनले सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशबीच नीतिगत निर्णय र प्रशासनिक समन्वय आवश्यक रहेको उल्लेख गरे।

नेपाली कम्युनिष्ट पार्टी धनुषाका संयोजक दीपक यादवले जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने पहलले धार्मिक तथा सांस्कृतिक पर्यटनको नयाँ सम्भावना खोल्ने बताए।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्न लागिएको हो।

नयाँ रेल सेवाले धार्मिक पर्यटकको आवागमन बढाउनुका साथै होटल, यातायात, हस्तकला तथा स्थानीय व्यवसायमा रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।