‘सुदूरपश्चिमको दशा कट्यो’, पहिलो जितपछि इशानको यस्तो प्रतिक्रिया

नुतन श्रेष्ठ

लगातार हारको डर र दबाबबीच रहेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेपछि टोलीका इशान पाण्डेले रोचक प्रतिक्रिया दिएका छन्। उनले बुधबारको जितसँगै टोलीको खराब समय सकिएको बताएका छन्।

पोस्टम्याच कन्फ्रेन्समा इशानले भने, ‘आजको जितले हाम्रो दशा कटेको छ। हाम्रो प्रत्येक सिजन एक दिन खराब हुन्छ, त्यो दिन सकिएको छ। अबका दिन आजको जस्तो होस्।’

दुईपटकको उपविजेता सुदूरपश्चिमले उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। पोखरा एभेन्जर्सलाई हराउँदै पहिलो जित निकालेपछि टोलीले आगामी खेलमा पनि लय कायम राख्ने विश्वास व्यक्त गरेको छ।

यता पोखरा एभेन्जर्सको भने लगातार तेस्रो सिजन पनि पहिलो खेलमा हारको सिलसिला रोकिएन। अहिलेसम्म एनपीएलको लिग चरण पार गर्न नसकेको एकमात्र टोली पोखराका लागि यो हारले दबाब थप बढाएको छ।

पोखराका अर्जुन घर्तीले टोलीको ब्याटिङ कमजोर रहेको स्वीकार गरे। उनले आफ्नो जिम्मेवारी राम्रो प्रदर्शन गर्नु रहेको बताउँदै त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए। अर्जुनले टोलीका लागि सर्वाधिक अविजित ४० रन बनाएका थिए।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी चम्किए। अर्धशतक प्रहार गरेका उनी प्लेयर अफ द म्याच घोषित भए।