नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्दैछ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। सभापति गगनकुमार थापाले भने असोज ३१ गते नै शपथ लिइसकेका छन्।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनको अन्तिम निर्वाचन परिणाम असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनबाट गगन थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए।
नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।
शपथ ग्रहण र पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने प्रस्तावसहित जिल्ला र प्रदेश अधिवेशनबारे छलफल हुने जनाइएको छ।
यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको थियो। निर्वाचनमा करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिएका छन्।

प्रतिक्रिया