ओलीको आह्वान : आन्दोलनका लागि तयार रहनू


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै रक्षाका लागि आन्दोलनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आन्दोलनबाट भागेर देशलाई वर्तमान अवस्थाबाट पार लगाउन नसकिने बताए।

उनले दक्षिणपन्थी शक्तिहरूमाथि लोकतन्त्र र शान्तिको नाममा जनतालाई धोका दिएको आरोप लगाए। साथै, सरकार बलजफ्ती अघि बढिरहेको र प्रहरीले बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै ओलीले राज्यका निकायसमेत स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरे।

उनले तत्काल वा तिहार तथा छठपछि जुनसुकै समयमा पनि आन्दोलनका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई असफल पार्ने गरी जुट्न पनि उनले आग्रह गरे।