नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो।
पोखराका लागि अर्जुन घर्तिमगरले अविजित ४० रन बनाए। उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे। महेदी हसनले ३२ तथा कप्तान कुशल भुर्तेलले २१ रन जोडे।
शाकिब अल हसनले १४, धनञ्जय लक्षनले ११, सदिरा समरविक्रमा ८, दिनेश खरेलले ४ र किरण ठगुन्नाले १ रन बनाए। विपिन खत्री ५ रनमा अविजित रहे।
सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए। हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए।

प्रतिक्रिया