राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस गरिएको छ ।
रास्वपामा परेको उजुरीका आधारमा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा कानुनी कारबाहीका लागि सिफारिस गरिएको पार्टीका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बुर्लाकोटीका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । तर, उनले सम्बन्धित संस्थान र कर्मचारीको नाम भने खुलाएका छैनन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरी सम्बन्धित मन्त्रालयमा पठाइएको बताएका छन् ।
रास्वपामा यसअघि पनि सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीले पार्टीमा जिम्मेवारी लिएको भन्दै उजुरी परेका थिए । त्यस्ता उजुरीमा सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण लिने र निर्णय गर्ने गरिएको बुर्लाकोटीले बताए ।
यसअघि एक वाणिज्य बैंकका कर्मचारीले रास्वपामा जिम्मेवारी लिएको विषयमा उजुरी परेपछि पार्टीले उनलाई राजनीति वा जागिरमध्ये एक रोज्न सुझाव दिएको थियो । त्यसपछि उनले जागिर छाडेर राजनीतिमा लागेको बुर्लाकोटीले जानकारी दिए ।
उनले सरकारी कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिन नहुनेमा पार्टी स्पष्ट रहेको बताएका छन् ।

प्रतिक्रिया