काठमाडौँको हाँडीगाउँमा मंगलबार परम्परागत नारायण जात्रा मनाइएको छ। भगवान् विष्णुको आराधनासँग जोडिएको यो जात्रा उल्टो शिखर भएका र पाङ्ग्रा नभएका रथका कारण विशिष्ट मानिन्छ।
कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रालाई स्थानीय रूपमा ‘तीन नारायणको जात्रा’ पनि भनिन्छ। जात्रामा तीनवटा खटमा देवदेवीका मूर्ति राखेर हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा परिक्रमा गराइन्छ।
अन्य परम्परागत रथभन्दा फरक देखिने यी खटको आकार उल्टो छाताजस्तो हुन्छ। खटको शिखर तलतिर फर्काइएको हुन्छ भने भक्तजनले काँधमा बोकेर परिक्रमा गराउँछन्। जात्राका क्रममा प्रत्येक खटको फेदमा बसेका व्यक्तिले त्यसलाई घडीको सुई घुम्ने दिशामा घुमाउने परम्परासमेत छ।
स्थानीय जनविश्वासअनुसार यो जात्राले समुदायमा सुख, समृद्धि र सुरक्षा ल्याउँछ। जात्रा हाँडीगाउँको नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा समेत स्थापित छ।
ऐतिहासिक अभिलेखअनुसार जात्रालाई निरन्तरता दिन चोक्केट नारायण अर्थात् चोक्कथुनारायणको नाममा गुठी जग्गा छुट्याइएको थियो। गुठी संस्थानका अभिलेखमा चोक्कथुनारायण र तीन नारायणका नाममा जग्गा रहेको उल्लेख छ।
मन्दिरको ढोकामा रहेको नेपाल भाषाको शिलालेखअनुसार यस जात्राको सुरुआत राजा नरेन्द्र मल्लको शासनकालमा भएको मानिन्छ।
काठमाडौँ उपत्यकामा तीव्र सहरीकरण भइरहे पनि हाँडीगाउँवासीले पुस्तौँदेखि जात्राका विधि र परम्परालाई निरन्तरता दिँदै आएका छन्। धार्मिक आस्थासँगै सामुदायिक सहभागिता र ऐतिहासिक सम्पदाको संरक्षणसँग जोडिएको नारायण जात्राले हाँडीगाउँको मौलिक सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ।

प्रतिक्रिया