राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणलाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । उनले भ्रमण व्यक्तिगत तथा धार्मिक उद्देश्यले हुन लागेको भन्दै राजनीतिक अड्कलबाजी नगर्न आग्रह गरेका हुन् ।
शुक्रबार बिहान पत्नी निकितासहित काठमाडौंँबाट धनगढी विमानस्थल पुगेका लामिछानेले आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको बताए ।
‘व्यक्तिगत भ्रमणमा छु । पहिल्यैदेखि जाने भाकल पनि थियो । धार्मिक आस्था, विश्वास र मेरो परिवार पनि आध्यात्मिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो,’ उनले भने, ‘म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो ।’
उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर नै किन रोजेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भाकल पूरा गर्न जान लागेको बताए ।
‘राजनीतिक भेटघाट केही छैन । व्यक्तिगत भ्रमण भएकाले कसैले खिचडी नपकाउन आग्रह गर्छु,’ उनले भने, ‘राजनीतिक र व्यक्तिगत भ्रमणलाई अलग्याउन आग्रह गर्दछु ।’
धनगढी विमानस्थलमा लामिछानेसँग भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल र सांसद दीपक बोहोरा पनि थिए ।
धनगढी पुगेपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ लागेका छन् । उनी गड्डाचौकी नाका हुँदै भारत प्रवेश गर्नेछन् ।
भारत भ्रमणका क्रममा लामिछानेले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ


प्रतिक्रिया