तिब्बतमा भूकम्पको कहर, १६ जनाको मृत्यु


चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १० बजेर ३३ मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तरी तिब्बतको नाग्छु क्षेत्रस्थित एक उच्च हिमाली काउन्टीमा रहेको थियो । भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ ।

भूकम्पका कारण केन्द्रविन्दु आसपासका गाउँमा केही घरका भित्तामा चिरा परेको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा मानिसहरू घरबाट बाहिर निस्केर सडक तथा गाडीभित्र आश्रय लिइरहेको देखिन्छ ।

भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि आसपासका क्षेत्रमा ३ देखि ४ म्याग्निच्युडसम्मका परकम्पसमेत गएको बताइएको छ ।

समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा पर्छ ।
सन् २०२४ जनवरीयता चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो।