PHP वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहितका सेवा अस्थायी रूपमा बन्द गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो । सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।
सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकले PHP मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराइएको छ ।
राष्ट्र बैंकले २०८३ कात्तिक ६ गते जारी गरेको सूचनामार्फत सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बन्धित सबै निकायलाई अपिल गरेको हो ।


प्रतिक्रिया