कविता: आँ ऽऽऽऽऽ


बिहानदेखि साँझसम्म, उही मुद्रा, उही आसन,

मुख बाएर बस्नुपर्ने, यिनको मुख्य राशन !

न पसिना बगाउनु छ, न त श्रमको केही नाता,

“आँ ऽऽऽऽऽ” भन्दै बस्छन् सधैँ, अरूकै भरमा खाता ।

प्रेत आत्मा झैँ भेष बोकी, तृप्त हुँदैन त्यो प्राण,

लोभैलोभमा फसेर, गुमाउँछन् आफ्नो मानसम्मान !

आफ्नो काम छाडी यिनको, ध्यान अर्कैतिर हुन्छ,

जहाँ अवसर देख्यो, त्यतै लालचको आँधी चल्छ ।

पदमा बस्छन् रमरम गरी, ज्ञान छैन केही पनि,

काम गर्ने सोच छैन, मतलब छैन सिन्को पनि !

कुर्सी मात्र ओगटेर, स्वार्थतिर मात्र ताक्ने,

भागबन्डा खान पाए, दगुर्छन् यी दाउ थाप्ने ।

एकपटक खाइसकेपछि, फेरि फेरि खोज्ने लालसा,

जति खाए पनि यिनको, कहिल्यै मेटिन्न प्यासा !

परिश्रमको मूल्य छैन, लोभीहरूको बजार छ, “

आँ ऽऽऽऽऽ” भन्दै बस्नेहरूको, यही धन्दा अपरम्पार छ ।

श्रम गर्ने जनता सधैँ, पसिना बगाउँछन्,

धूर्तहरू मुख खोलेर, सित्तैमा सबै चपाउँछन् ।

गाउँटोल उठ्दै गर्दा, तिमी किन निदाएर बस्ने ?

सबैको पसिनाले बनेको ठाउँमा, अरूकै भाग खोसेर हाँस्ने ?

यो माटो सबैको हो, यो बाटो सबैले हिँड्ने हो,

संयन्त्र पनि सबैको हो, यसलाई मिलेर जोगाउने हो ।

एकको लोभले गाउँ बिग्रन्छ, एकको स्वार्थले संयन्त्र ढल्छ,

आज मुख बाएर बस्नेहरूकै कारण, भोलि सिङ्गो समाजले मूल्य चुकाउँछ ।

अब त चेतनाको दीप बालेर, नराम्रो बाटोबाट निस्क,

“आँ ऽऽऽऽऽ” गरेर बस्ने होइन, आफ्नै हातले आफ्नो ठाउँ सिँगार ।

श्रम गर्ने हातलाई सम्मान गर, इमानदार कामलाई अघि सार,

कुर्सी होइन—कर्तव्य रोज, भाग होइन—योगदानको विचार ।

गाउँ राम्रो भए ठाउँ बन्छ, ठाउँ राम्रो भए समाज,

समाज उठे देश उठ्छ— यही हो परिवर्तनको आवाज !

त्यसैले अब मुख बाएर, अरूकै आशमा नबसौँ,

“आँ ऽऽऽऽऽ” को बहाना छोडी, आफ्नै कर्मले समाज बनाऔँ ।

स्वार्थको जाल च्यातौँ, परजीवी बन्ने चाल भगाऔँ,

श्रम, इमान र जिम्मेवारीले, आफ्नो देश सजाऔँ ।

छोडी लाज पचेको बानी, परजीवी बन्ने चाल,

“आँ ऽऽऽऽऽ” कै भरमा नपारौँ, देशको यो बेहाल !

नत्र समयले सोध्नेछ— “तिमीले के दियौ समाजलाई ?”

उत्तर दिन नसक्दा, ओठबाट फेरि त्यही निस्कनेछ — “आँ ऽऽऽऽऽ…!”