कार्कीको रिटमा फुयाल र पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ


निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी तोकिएको छ। उक्त मुद्दा इजलासको ‘ख’ नम्बरमा परेको छ।

सरकारले आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेपछि कार्कीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि रिटमाथि पहिलो सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको थियो।

सर्वोच्चले मुद्दालाई विशेष अग्राधिकार दिँदै मंसिर ७ गतेका लागि पेशी तोकेको थियो। सोहीअनुसार आज रिटमाथि सुनुवाइ हुन लागेको हो।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कानुनी उपचार खोज्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।