भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
सोमबार राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
भारत भ्रमणको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आज बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ। बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने तय भएको छ।
दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया