वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज (साउन १२) देशभर आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिमार्फत देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको हो।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र उनी उपचाररत रहेका छन्।
नेपाल चिकित्सक संघका अनुसार घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको थियो।
संघले उक्त घटनाको कडा शब्दमा भर्त्सना गर्दै आक्रमण र तोडफोडमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कारबाही गर्न माग गरेको छ।
यस्तै, चिकित्सकमाथि दुर्व्यवहारमा संलग्न रहेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न सरकारसँग माग गरिएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया