अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष क्रिकेटको दुई ठूला ग्लोबल प्रतियोगिताहरूको मार्गचित्रमा व्यापक परिवर्तन गरेको छ।
स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक साधारणसभाले सन् २०२७ को एकदिवसीय विश्वकप र सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ र परिमार्जित प्रतियोगिता ढाँचा (Format) लाई आधिकारिक रूपमा स्वीकृति दिएको छ। आईसीसी बोर्डले प्रमुख कार्यकारी अधिकृतहरूको समिति (CEC) को सिफारिसलाई अनुमोदन गर्दै यो निर्णय लिएको हो। नयाँ ढाँचाले प्रतियोगिताहरूलाई अझ बढी प्रतिस्पर्धात्मक, रोमाञ्चक र अर्थपूर्ण बनाउने, खेलको स्तर उकास्ने र समर्थक तथा खेलाडी दुवैलाई उत्कृष्ट अनुभव प्रदान गर्ने आईसीसीले विश्वास लिएको छ।
यस परिमार्जित संरचना अन्तर्गत नेपाली क्रिकेट टोलीलाई पनि २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनका लागि स्पष्ट र बलियो अवसर प्राप्त भएको छ।
२०२७ एकदिवसीय विश्वकप: १४ टोली, ३ चरणको नयाँ संरचना
दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने २०२७ को एकदिवसीय विश्वकपमा कुल १४ टोलीले सहभागिता जनाउने छन्। यसपटक आईसीसीले प्रतियोगितालाई थप रोचक बनाउन तीन चरणको नयाँ प्रणाली लागू गरेको छ:

पहिलो चरण (सुपर सिरिज): १४ टोलीमध्ये तल्लो तीन स्थानमा रहेका टोलीहरूले एकअर्कासँग राउन्ड–रोबिन ढाँचामा प्रतिस्पर्धा गर्नेछन् । यस चरणको विजेता टोलीले मात्र दोस्रो चरणमा प्रवेश पाउनेछ।

दोस्रो चरण (३० खेल): बाँकी रहेका १२ टोलीलाई ६–६ टोलीको दुई समूहमा विभाजन गरिनेछ। समूह चरणमा राउन्ड–रोबिन खेलहरू हुनेछन्। प्रत्येक समूहका शीर्ष तीन टोली र दुवै समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने थप एक टोली गरी कुल ७ टोली ‘सुपर–७’ मा पुग्नेछन्।
तेस्रो चरण – सुपर–७ (२१ खेल): यी सात टोलीबीच पुनः राउन्ड–रोबिन खेलहरू हुनेछन् । जसमध्ये शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नकआउट चरण: सेमिफाइनलमा शीर्ष स्थानको टोलीले चौथो र दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
२०२८ टी–२० विश्वकप: २० टोली, ‘सुपर–१०’ र एलिमिनेटरको नयाँ ट्विस्ट
अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने २०२८ को टी–२० विश्वकपमा टोलीको संख्या २० नै यथावत् राखिएको छ। तर, प्रतियोगिताको संरचनामा भने व्यापक फेरबदल गर्दै दोस्रो चरणमा बढी टोलीहरूलाई अवसर दिने रणनीति अपनाइएको छ।
प्रतियोगिताको नयाँ ढाँच
समूह चरण (३० खेल):२० टोलीलाई ४–४ टोली समेटिएका ५ वटा समूहमा विभाजन गरिनेछ। (यसअघि २०२६ को संस्करणमा ५–५ टोलीका ४ समूह थिए)। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–१०’मा प्रवेश गर्नेछन्।
सुपर–१० (२० खेल): छनोट भएका १० टोलीलाई ५–५ टोलीको दुई समूहमा बाँडिनेछ। दुवै समूहका विजेता (शीर्ष स्थानका) टोलीहरू सिधै सेमिफाइनलमा पुग्नेछन् ।
एलिमिनेटर चरण (२ खेल): सेमिफाइनलका बाँकी दुई स्थानका लागि नयाँ ‘एलिमिनेटर’ नियम ल्याइएको छ। यसमा एक समूहको दोस्रो स्थानमा रहेको टोलीले अर्को समूहको तेस्रो स्थानको टोलीसँग भिड्नुपर्नेछ। यी दुई खेलका विजेताहरूले सेमिफाइनलको टिकट काट्नेछन्।
छनोट प्रक्रिया: १२ टोली सुरक्षित, नेपाल सिधै ‘ग्लोबल क्वालिफायर’ मासन् २०२८ को विश्वकपका लागि २०२६ को संस्करणको प्रदर्शन र तत्कालीन आईसीसी वरीयताका आधारमा विश्वका १२ टोलीले सिधै (Direct Qualification) स्थान सुरक्षित गरिसकेका छन्।
सिधै छनोट हुने १२ टोलीहरू: अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वे।
नेपाललाई ग्लोबल क्वालिफायरको अवसर
विश्वकपका बाँकी ८ स्थानका लागि १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायर आयोजना गरिनेछ। २०२६ को टी–२० विश्वकप खेलेर पनि २०२८ का लागि स्वतः छनोट हुन नसकेका नेपालसहितका ८ टोलीले सिधै ग्लोबल क्वालिफायरमा स्थान बनाएका छन्।
सिधै ग्लोबल क्वालिफायर खेल्ने ८ टोली: नेपाल, नामिबिया, नेदरल्यान्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स (UAE), संयुक्त राज्य अमेरिका (USA), क्यानडा र इटाली। (विशेष परिस्थितिका कारण स्कटल्यान्डलाई भने युरोप क्षेत्रीय फाइनलमा सिधै प्रवेश दिइएको छ।) क्षेत्रीय छनोटबाट थप ८ टोली आउनेग्लोबल क्वालिफायर पूरा गर्न विश्वका विभिन्न क्षेत्रहरूबाट क्षेत्रीय छनोट पार गर्दै थप ८ टोली आउनेछन्:
अफ्रिका क्षेत्र: २ टोली
एसिया क्षेत्र: २ टोली
युरोप क्षेत्र: २ टोली
अमेरिका क्षेत्र: १ टोली
पूर्वी एसिया–प्रशान्त (EAP) क्षेत्र: १
टोली छनोटको समीकरण: ग्लोबल क्वालिफायरमा सहभागी १६ टोलीमध्ये प्रत्येक क्षेत्रबाट उत्कृष्ट स्थान हासिल गर्ने एक–एक टोली र समग्र प्रदर्शनका आधारमा थप ३ उत्कृष्ट टोली (न्यूनतम मापदण्ड पूरा गरेमा) २०२८ को टी–२० विश्वकपका लागि छानिनेछन् ।
नेपालका लागि यो विश्वकपको यात्रा तय गर्ने निकै सुनौलो र बलियो अवसर हो।
नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रस्ताव
यसैबीच, आईसीसी बोर्डले क्रिकेटको विकास र व्यावसायिकतालाई थप विस्तार गर्न एक नयाँ अन्तर्राष्ट्रिय प्रमुख प्रतियोगिता आयोजना गर्ने प्रस्तावलाई पनि नीतिगत समर्थन गरेको छ। विकास समिति र प्रमुख कार्यकारी अधिकृतहरूको समितिको सिफारिसमा आएको यो नयाँ प्रतियोगिताको प्रस्तावलाई आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिले आगामी नोभेम्बरमा बस्ने बैठकमा विस्तृत समीक्षा गरेपछि अन्तिम स्वीकृति दिने बताइएको छ।

प्रतिक्रिया