चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै केरुङ बाढीमा १०४ नेपालीसहित कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएको जनाएको हो।
सार्वजनिक विवरणअनुसार बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली छन्। भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६/६ जना बेपत्ता छन्।
त्यस्तै दक्षिण अफ्रिकाका ४ जना तथा जर्मनी, मलेसिया र रूसका ३/३ जना सम्पर्कविहीन रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना तथा फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।
चिनियाँ अधिकारीहरूले सम्पर्कविहीन भएका विदेशी नागरिकबारे चीनमा रहेका सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन्।
यद्यपि, आइतबार बिहानसम्म केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा नरहेको चिनियाँ अधिकारीहरूले स्पष्ट पारेका छन्।
केरुङ क्षेत्रमा आएको बाढीपछि नेपालीसहित विभिन्न देशका नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया