काडमाडौँमा पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिँदैछ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले यो जानकारी दिएका हुन्।
सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।
शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै प्रहरीले पोखरा पुर्याएको थियो।
पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
हिजो शनिबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो।
आफ्ना सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिजो काठमाडौँ, पोखरासहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको थियो।
सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको आरोप रास्वपाले लगाएको छ।
प्रतिक्रिया