साफ महिला फुटबल च्याम्पियनसिप आजबाट (तालिका सहित)

साझा प्रेस
200
Shares

सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।

टिकट बिक्री बापतको २० प्रतिशत रकम नेपाली फुटबल टिमलाई

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो ।

८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकट विक्रीको जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ ।

साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गर्न बुधवार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टिकट विक्रीको २० प्रतिशत रकम दिने घोषणा गरेका हुन्। उनले नेपाल यसपटक उपाधि घरमै राख्ने आफूहरु आशावादी रहेको बताए ।

नेपालसहित दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ ।

साफको समूह ‘बी’मा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।
नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।