यस्तो बन्यो गगन नेतृत्वको कांग्रेसको केन्द्रीय समिति, २३१ जना निर्वाचित


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको मतगणना सकिएको छ। असोज २३ गते रातिबाट सुरु भएको मतगणना सात दिनपछि सम्पन्न हुँदा २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ। जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ। विभिन्न क्लस्टर र समावेशी समूहका आधारमा केन्द्रीय सदस्य चयन भएका हुन्। महाधिवेशन प्रतिनिधिले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए।

गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। संशोधित विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाइएको छ भने उपसभापति र महामन्त्री पदमा समेत समावेशिताको व्यवस्था गरिएको छ।

उपसभापतिमा वरिष्ठतर्फ विश्वप्रकाश शर्मा, महिलातर्फ पुष्पा भुसाल र खुलातर्फ चन्द्र भण्डारी तथा मधु आचार्य निर्वाचित भएका छन्। समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित हुँदा महिलातर्फ डा. डिला संग्रौला चयन भएकी छन्।

त्यस्तै, ११ सहमहामन्त्री निर्वाचित भएका छन्। खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन्। विधानअनुसार बाँकी चार सहमहामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

मतपरिणामअनुसार सभापति थापाले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। कुल सात हजार ३९ मत खसेकोमा उनले ६ हजार ५८४ मत पाएका छन्, जुन कुल मतको ९३.८८ प्रतिशत हो।

पदाधिकारीमध्ये उपसभापतिमा चन्द्र भण्डारीले तीन हजार ७३५ र महामन्त्रीमा प्रदीप पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन्। प्रतिमा गौतमले पाँच हजार ११६ मत पाएकी छन्।

खुलातर्फका ४५ केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना चयन भएका छन्। त्यस्तै, पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन्।