मोरङमा गाँजा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक घाइते


मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले करिब एक सय किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकेपछि चलाइएको गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका हुन्। उनको देब्रे खुट्टाको पिँडुलामा गोली लागेको छ।