देहरादुन लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए


तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा अधिकारीले नेपाल फर्काएका छन्।

हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो।

फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीले जिम्मा लिएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ।

बालबालिकालाई देहरादुनमा तिब्बती भाषा अध्ययन गराउने भनिए पनि कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन। उनीहरूलाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन सकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।