बूढानीलकण्ठको माथिल्लो भंगालमा घर भाडामा लिएर सुन प्रशोधन तथा कारोबार गरेको आशंका गरिएका तीन चिनियाँ नागरिक पक्राउ प्रकरणमा प्रहरीले बरामद गरेको साढे २१ किलोभन्दा बढी सुन भन्सार कार्यालयमा बुझाएको छ। प्रहरीले सुनसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा सुन बुझाइए पनि यस प्रकरणसँग जोडिएका अन्य व्यक्ति तथा सञ्जालको खोजी भने प्रहरीले जारी राखेको छ। घटनाको सबै पक्षमा अनुसन्धान गर्न छुट्टै टोली परिचालन गरिएको उनले बताएका छन् ।
प्रहरीले असोज २२ गते बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५० दशमलव ६८ ग्राम सुन बरामद गरेको थियो। बरामद सुनको मूल्य घटनाको दिनको बजार मूल्यअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको बताइएको छ।
घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुनसमेत फेला परेको थियो। यसले उक्त घरमा सुन राख्ने वा प्रशोधन गर्ने गतिविधि भइरहेको हुन सक्ने प्रहरीको आशंकालाई थप अनुसन्धानको विषय बनाएको छ।
प्रहरीले घटनामा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेनलाई पक्राउ गरेको छ। उनीहरूले सिंगो घर भाडामा लिएर सुनको कारखाना सञ्चालन गरेको आरोप छ।
बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ। अब अनुसन्धानको मुख्य चासो सुन कहाँबाट आयो, नेपालमा कसरी ल्याइयो र यसमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा केन्द्रित हुने देखिएको छ।
भन्सार कार्यालयले आफ्नो प्रक्रियाअनुसार थप अनुसन्धान तथा कारबाही अघि बढाउनेछ भने प्रहरीले सुन तस्करीसँग जोडिएको सम्भावित सञ्जाल पहिचान गर्न अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया