बूढीगण्डकीको बाढीमा फसेका ६ जनाको हवाई उद्धार


बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेनाले गोरखाको जगत क्षेत्रमा जोखिममा रहेका उनीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारेको हो।

प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धारबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार बूढीगण्डकी नदीमा बाढी आएपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। पहिरोको जोखिममा रहेको जगत क्षेत्रमा रहेका ६ जनालाई हवाई उद्धार गरिएको उनले बताएका छन्।

उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको छ।

बूढीगण्डकी नदीमा आएको बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।