चाडपर्व नजिकिएसँगै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ।
बुधबार गाउँपालिकाको संयुक्त अनुगमन टोलीले वडा नम्बर ७ र ८ का विभिन्न होटल तथा पसलहरूमा गरेको आकस्मिक अनुगमनका क्रममा करिब ४१ हजार रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरेको छ। गाउँपालिकाका आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले बजारका उपभोग्य वस्तु बिक्री गर्ने पसल तथा होटलहरूको निरीक्षण गरेको थियो।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, गाउँ प्रहरी तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा म्याद नाघेका तथा अखाद्य वस्तु बिक्रीका लागि राखिएको भेटिएपछि ती सामग्री नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि र सरोकारवालाको रोहवरमा बुधबार नै नष्ट गरिएको अनुगमन टोलीका संयोजक कार्कीले जानकारी दिए।


टोली पुग्दा पसल बन्द गरेर भागे व्यापारीसंयुक्त टोली बजार अनुगमनमा निस्किएको थाहा पाएपछि केही पसल सञ्चालकहरू भने पसल नै बन्द गरेर भागेका टोलका एक सदस्यले बताए । अखाद्य तथा गुणस्तरहीन सामग्री लुकाउने उद्देश्यले व्यापारीहरू पसल छाडेर हिँडेको पाइएको गाउँपालिकाले जनाएको छ।
चाडपर्वको मौका छोपी उपभोक्ता ठगी गर्ने, अखाद्य तथा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।गाउँपालिकाले आम उपभोक्ताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा पनि अनुगमन कार्यलाई निरन्तरता दिने बताएको छ। साथै, चाडपर्वमा खाद्यवस्तुको माग उच्च हुने भएकाले उपभोक्तालाई सचेत रहन र व्यापारीहरूलाई अनिवार्य रूपमा गुणस्तरीय तथा म्याद कायम रहेका सामग्री मात्र बिक्री-वितरण गर्न आग्रह गरिएको छ।
नियम विपरीत काम गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।


प्रतिक्रिया