नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने राजनीतिक दलका नेताहरूको उपस्थिति टुंगो लाग्दै गएको छ। कांग्रेसले विभिन्न दलका शीर्ष नेताहरूलाई निम्तो दिए पनि केही दलका अध्यक्ष स्वयं सहभागी हुने भएका छन् भने केहीले प्रतिनिधि पठाउने भएका छन्।
आज काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने तयारी छ। रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार अहिलेसम्म सभापति लामिछाने नै कार्यक्रममा सहभागी हुने तय भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। बुवाको निधनपछि बरखीमा रहेका ओलीको स्थानमा एमाले महासचिव शंकर पोखरेल कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। पोखरेलले एमालेका तर्फबाट शुभकामना मन्तव्य दिने ओलीको सचिवालयले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने स्वयं उद्घाटन समारोहमा सहभागी हुने तयारीमा छन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्नेछन्। प्रचण्डको प्रमुख स्वकीय सचिवालयले समेत उनको दैनिक कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। झापामा रहेका लिङ्देन आजै काठमाडौं आएर महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने राप्रपाले जनाएको छ।
यता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने कार्यक्रममा सहभागी नहुने भएका छन्। यादवको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारी कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित विभिन्न देशका राजनीतिक दलका प्रतिनिधि तथा विदेशी पाहुनालाई समेत निमन्त्रणा गरेको छ। आज दिउँसो २ बजे खुलामञ्चमा हुने उद्घाटन समारोहपछि महाधिवेशनका अन्य कार्यक्रम अघि बढ्नेछन्।
पाँच दिनसम्म चल्ने महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्वसमेत चयन गर्दैछ। उद्घाटनपछि बन्दसत्र, उम्मेदवारी मनोनयन तथा निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यतालिका छ।

प्रतिक्रिया