जुभिङ माविलाई ४ लाख ५५ हजारको सहयोग

समाजसेवी ङिमा दोर्जी शेर्पाकाे सहयाेग


खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी ङिम दोर्जी शेर्पाले माप्य दुधकोशी गाउँपालिका–१ स्थित जुभिङ माध्यमिक विद्यालयलाई ४ लाख ५५ हजार रुपैयाँ बराबरको शैक्षिक तथा विद्यार्थी पोसाक सामग्री सहयोग गर्नुभएको छ।

शेर्पाले विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थी र १५ जना शिक्षकका लागि ट्र्याकसुट, टाई, जुत्ता, मोजा, स्वेटर, बेल्टलगायतका पोसाक सामग्री उपलब्ध गराउनुभएको हो।

त्यसैगरी, विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई सहयोग पुर्‍याउने उद्देश्यले एक थान स्मार्ट बोर्डसमेत प्रदान गर्नुभएको छ। स्मार्ट बोर्डको प्रयोगबाट कक्षाकोठामा आधुनिक तथा प्रविधिमैत्री शिक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ।

समाजसेवी शेर्पाले यसअघि पनि विपद्का समयमा विद्यालय तथा स्थानीय समुदायलाई सहयोग गर्दै आउनुभएको छ। भूकम्पका समयमा जुभिङ माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणका लागि उहाँले करिब १० लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको थियो।

त्यस्तै, भूकम्पबाट प्रभावित खरीखोला र जुभिङ क्षेत्रका करिब ३०० घरधुरीका लागि घरको छाना निर्माण गर्न जस्तापाता उपलब्ध गराउनुभएको थियो।

पर्यटन व्यवसायमा समेत संलग्न शेर्पा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ। उहाँ खरीखोलास्थित पेमा नाम्दिङ गुम्बाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ।

शिक्षा, विपद् व्यवस्थापन तथा समुदायको आवश्यकतामा निरन्तर सहयोग गर्दै आउनुभएका शेर्पाको पछिल्लो सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारसँगै विद्यार्थी तथा शिक्षकलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय परिवारले पोसाक तथा स्मार्ट बोर्ड सहयोग गरेकोमा समाजसेवी ङिम दोर्जी शेर्पाप्रति आभार व्यक्त गरेको छ।