युवा नेता विश्वराज तामाङद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


नेपाली राजनीतिमा युवा पुस्ताको उपस्थिती बढिरहेका बेला युवा नेता विश्वराज तामाङले नेपाली कांग्रेसको केन्द्रीय सदस्यामा उम्मेदवारी घोषणा गरेका छन् । उदयपुरबाट ३५ वर्षमुनिकाे युवा क्लष्टरमा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि बनेका तामाङले पार्टीको १५ औं महाधिवेशनमा  केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पछिल्लो समय राजनीतिमा युवा पुस्ताको उदय हुनेक्रम बढेको र युवालाई नै आम नेपालीले रोजेको हुँदा कांग्रेसलाई देशको पहिलो पार्टी बनाउन युवालाई महाधिवेशन प्रतिनिधीले चुन्ने अपेक्षासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको तामाङले साझाप्रेससँग बताए ।

कांग्रेसलाई देशको पहिलो र बलियो पार्टी बनाउन अग्रजको योगदानको सम्मान गर्दै युवालाई नेतृत्वमा स्थापित गर्नु अपरिहार्य भएकाले  आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहने उनको भनाई छ । युवा कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको तयारी छ ।

तामाङको पृष्ठभूमी पत्रकारिता हो । लामो समयदेखि पत्रकारिता मार्फत सामाजिक काम गर्दै आएका तामाङ उदयपुर क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तामाङ अहिले पत्रकारिता तथा सञ्चार उद्यममा समेत सक्रिय छन् ।

नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका तामाङ पछिल्लो समय सञ्चार उद्यमीका रूपमा परिचित छन् ।

तामाङ नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष, प्रेस युनियन उदयपुरका अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि तामाङ प्रदेश महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका थिए ।

कांग्रेसको संगठनसँगै पत्रकारिता क्षेत्रमा समेत सक्रिय तामाङ नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागका सदस्यसमेत हुन् ।

पत्रकारिता, लेखनपाठन, आईटीजस्ता विषयमा दक्षता राख्ने तामाङ पत्रकारिता र कानून अध्ययन गरेका युवा हुन् ।

अब्बल नेतृत्व क्षमता र प्राप्त जिम्मेवारीलाई अक्षरस पुरा गर्ने कार्यकुशलता भएका तामाङ पत्रकारिता पेशा छाडेर कांग्रेसको राजनीति मार्फत जनसेवामा होमिएका छन् ।