धौलीगंगा बाँध खोलिने भएपछि महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह


भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।

बाँधमा रहेको सिल्ट सफाइ गर्न असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।

बाँध खोलिने अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।

बाँधका ढोका बन्द गरिएपछि पनि केही समय महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई निरन्तर सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।