सप्तरीका ५ सय घर डुबानमा, जनजीवन प्रभावित



लगातारको वर्षापछि सप्तकोसी नदीमा बाढी आउँदा सप्तरीका पाँच सय घर डुबानमा परेका छन्। बाढीका कारण दुई हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्।


​हनुमाननगर कङ्कालिनी नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ का ४८३ घर तथा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ का १७ घर डुबानमा परेका हुन्। शुक्रबार राति सप्तकोसी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए।


​नगरप्रमुख माझीका अनुसार बाढी प्रभावितहरूलाई तत्कालका लागि दुई छाक खानाको व्यवस्था गरिएको छ। “पानीको सतह घटेपछि पीडितको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ,” उनले भने।