संविधान दिवससँगै थुलुङ दुधकोशी अस्पतालको चौथो वार्षिकोत्सव


संविधान दिवसको अवसर पारेर थुलुङ दुधकोशी अस्पतालको चौथो वार्षिकोत्सव मनाएको भएको छ।

गाउँका नागरिकलाई स्थानीय तहमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको अस्पतालले आफ्नो चौथो स्थापना दिवस मनाएको हो।

कार्यक्रममा नेपालको संविधान २०७२ ले परिकल्पना गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार र स्थानीयस्तरमै नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यअनुरूप अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । संविधान दिवसको अवसरमा संविधान निर्माण तथा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि ज्यानको बलिदान गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको अवस्था चाँडै पत्ता लागोस् भन्ने कामना समेत गरिएको थियो।

अस्पताललाई सबै नागरिकको साझा अस्पतालका रूपमा विकास र सञ्चालन गर्ने दायित्व स्थानीय सरकार, स्वास्थ्यकर्मी, कर्मचारी तथा समुदाय सबैको रहेकोमा समेत जोड दिइएको छ। स्थानीय नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित थुलुङ दुधकोशी अस्पतालले आगामी दिनमा सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।