प्रधानमन्त्री शाह न्यूयोर्क जाने


प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ ।

छोटो अवधिका लागि न्यूयोर्क जान लागेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा नेपाललाई सम्बोधन गर्ने तयारी छ । भोटेकोशी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर र त्यसबाट उत्पन्न जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।

यसअघि महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको थियो । तर, भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि प्रधानमन्त्री शाह स्वयं नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने निर्णय भएको हो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब १० जनासम्म सहभागी हुने बताइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तन, विपद् जोखिम तथा नेपालले भोगिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राख्ने तयारी छ ।