देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ११८ पुगेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहान ९ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा ३४८ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको मृत्यु पुष्टि भएको छ।
त्यस्तै, गोरखामा ६६, धादिङमा ५९, तनहुँमा ३८ र रसुवामा ४१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भएको छ भने उनीहरूका शव आफन्तलाई बुझाइएको छ।
बाढी तथा पहिरोपछि अझै ४ हजार ८ सय ५८ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, स्थानीय बासिन्दा तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकसमेत रहेका छन्।
हालसम्म ११ हजार ९९३ जनाको सफल उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उद्धारमार्फत मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको विवरणमा उल्लेख छ।
बाढी तथा पहिरोमा परी घाइते भएका २१२ जनामध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
उद्धार तथा सुरक्षाका लागि देशभर २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
प्रभावित क्षेत्रबाट उद्धार गरिएका ३ हजार ४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सबैभन्दा धेरै नुवाकोटमा २ हजार ४६६ जना होल्डिङ सेन्टरमा रहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, संघीय सरकारले बाढी तथा पहिरो प्रभावित जिल्लाका लागि राहत रकमसमेत निकासा गरेको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
त्यस्तै, अन्य १५ प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको सरकारले जनाएको छ।
बाढी–पहिरोको विपद्पछि खोज, उद्धार, शव पहिचान तथा राहत वितरणको काम जारी छ।

प्रतिक्रिया