बेपत्ताका आफन्त आक्रोशित (भिडियो सहित)


रसुवामा सञ्चालित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ५० जना बढी प्राविधिकका आफन्तहरुले कम्पनीको मुख्य कार्यालयमा तोडफोड गरेका छन् । बाढीपछि बेपत्ता भएकाहरुको खोज तथा उद्धारमा कम्पनी उदासिन देखिएको भन्दै उनिहरुले आक्रोश व्यक्त गरेका छन् ।

बिगत ६ दिनदेखि नियमित कम्पनीमा पुगि बेपत्ताहरुको खोजि तथा उद्धारका लागि माग गरिरहेका परिवार तथा अन्य आफन्तहरुले कम्पनीले केबल आश्वासन मात्र दिएको आरोप लगाउदै आक्रोशित भएर कम्पनीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । उनिहरुले तत्कालै ठोस उद्धारको कार्य गर्न माग गर्दै त्यसो हुन नसके अवस्था झन भयावह हुने समेत चेतावनी दिएका छन् ।

आयोजनामा डुसान इनरबिलिटीमा कार्यरत इन्जिनियरसहित विभिन्न प्राविधिकहरू रहेका थिए । कुल ९९ जना प्राविधिक कार्यरत रहेकामा ५० जना बढी अझै सम्पर्कविहीन छन् । २६ जना भने सम्पर्कमा आइसकेको कम्पनीले जनाएको छ ।

बेपत्ता हुनेमा कोरियन प्राविधिक टोलीका सदस्यसमेत रहेका छन् । कोरियाली प्राविधिक टोलीमा रहेका २० जनामध्ये ५ जना अझै बेपत्ता छन् भने अन्य सदस्यहरू सुरक्षित रहेको जानकारी दिइएको छ ।