काठमाडौँ । देशभर आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने गर्छन् ।
तागाधारीले विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने र रक्षासूत्र धारण गर्ने भएकाले यस पर्वलाई जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणीका रूपमा मनाउने गरिन्छ ।
जनैपूर्णिमाका अवसरमा पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत देशभरका मठमन्दिर तथा धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ ।
यस दिन एघार प्रकारका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलनसमेत छ । क्वाँटी स्वास्थ्यका लागि लाभदायक हुने तथा वर्षायाममा शरीरमा लागेको चिसो हटाउन सहयोग गर्ने धार्मिक एवं आयुर्वेदिक मान्यता छ ।
तराई क्षेत्रमा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर रक्षाबन्धन मनाउने प्रचलन छ । पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड, मणिचूड, पाँचपोखरी, कुम्भेश्वर, जनकपुरधाम, धनुषसागर, गङ्गासागर तथा त्रिवेणीधामलगायतका धार्मिकस्थलमा मेला लाग्ने गर्छ ।

प्रतिक्रिया