भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति शेर्पा संघद्वारा दुःख व्यक्त, राहत र उद्धारमा जुट्न अपिल


काठमाडौं । रसुवाको भोटेकोशी खोलामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल शेर्पा संघले गहिरो दुःख व्यक्त गरेको छ । संघले बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल खोज, उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

अध्यक्ष लाक्पा ठिन्ले शेर्पाको अध्यक्षतामा नेपाल शेर्पा संघ, संघीय सचिवालयको भदौ ११ गते बसेको बैठकले विपद्पछि तत्काल खोज, उद्धार र राहतका लागि आवश्यक कार्य अघि बढाउने निर्णय गरेको जनाएको छ । संघले सामाजिक सेवा तथा पर्यटन तथा पर्वतारोहण विभागका प्रमुखलाई जिम्मेवारी दिई स्थानीयस्तरमा समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, ट्रेक तथा ट्राभल्स कम्पनीलगायत सम्बन्धित निकायसँग समन्वय गरी वेपत्ता नेपालीहरूको सूची तयार गर्ने तथा नेपाल शेर्पा संघको आधिकारिक फेसबुक पेजमार्फत वेपत्ता, घाइते र मृतकको विवरण संकलन गर्ने व्यवस्था मिलाइएको शेर्पा संघका महासचिव लाक्पा जी शेर्पाले बताए ।

संघले विपद्मा परेकाहरूको तत्काल खोज, उद्धार र उपचारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न जोडदार माग गरेको छ । साथै, संघसँग सम्बन्धित सम्पूर्ण व्यक्ति तथा समुदायलाई स्वतःस्फूर्त रूपमा उद्धार तथा राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

नेपाल शेर्पा संघले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ । साथै, पीडित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।