प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। प्रधानमन्त्री शाह आज बिहान करिब ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।
बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ। समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर तथा आसपासका प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री लम्सालले बाढीबाट भएको क्षतिको प्रत्यक्ष जानकारी लिनेछन्। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिनुका साथै तत्काल आवश्यक पर्ने कदमबारे सम्बन्धित निकायसँग समन्वय गर्ने बताइएको छ।
त्यस्तै, बाढी प्रभावित सबै क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन तथा क्षतिग्रस्त सडक, पुललगायतका पूर्वाधारको पुनर्निर्माण र सञ्चालनलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको विदुर भ्रमण बाढीपछिको राहत, पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले हुन लागेको हो।

प्रतिक्रिया