‘अख्तियार त्रास होइन, प्रमाणका आधारमा अनुसन्धान गर्ने संस्था बन्नुपर्छ’: कानूनमन्त्री गौतम


कानूनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएकी छन्।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्।

उनले अख्तियारलाई बलियो बनाउनुपर्नेमा कुनै द्विविधा नरहेको बताउँदै संस्थाको बल त्रास सिर्जना गरेर देखाउने खालको हुन नहुने धारणा राखिन्।

‘संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो पगरी गुथ्ने संस्था हुनु हुँदैन,’ उनले भनिन्, ‘निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ।’

भ्रष्टाचार गर्नेहरू अख्तियारसँग डराउनुपर्ने भए पनि इमानदार कर्मचारीमा अनावश्यक त्रास सिर्जना हुन नहुने मन्त्री गौतमको भनाइ छ।

उनले कतिपय अवस्थामा कर्मचारीतन्त्रले निर्णय लिन र काम गर्न हिच्किचाउँदा सरकारसमेत अनिर्णयको अवस्थामा पुग्ने गरेको बताइन्।

अख्तियारले अनुसन्धान तथा अभियोजन गर्दा पर्याप्त तथ्य र प्रमाणका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री गौतमले त्यसबाट मात्रै आयोगप्रति जनविश्वास कायम हुने बताइन्।